


विराटनगर १० असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताउनु भएको छ ।
आज राजधानीमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको उल्लेख गर्नुभयो । ‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। यसको हामीले समाधान निकाल्नुपर्छ। हाम्रो शक्तिका स्रोत भनेका जनता हुन,’ उहाँले भन्नुभयो ।
भण्डारीले राजनीतिक दलहरूको नीति, दर्शन र कार्यक्रम जनताले दिएको सुझावसँग मेल खानुपर्नेमा जोड दिनुभयो । उहाँले दलहरूबीच समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, ‘पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएर मात्र हामीले यो समस्यालाई समाधान दिन सक्छौं।’
देशको अस्थिरताले मित्रराष्ट्रहरूलाई समेत चिन्ताको अवस्था आउन सक्ने चेतावनी दिँदै उहाँले शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई युगअनुकूल अगाडि बढाउन आग्रह गर्नुभयो । ‘हामी जस्तो खालको बसाईमा छौं, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि पिर पर्न सक्छ ।
समस्याहरू आउन सक्छ’ उहाँले भन्नुभयो, ‘त्यसले हामीले हाम्रो शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ ।’ दलका नेताहरूको कार्यशैलीप्रति आलोचना गर्दै भण्डारीले भन्नुभयो, ‘नेताहरूले बाहिर धेरै बोल्ने तर पार्टीभित्र केही पनि गर्न नसक्ने तरिका सही होइन । सबैको कुरा सुन्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’
भण्डारीले सबै जिम्मेवार नागरिकहरूलाई छलफललाई अगाडि बढाउँदै समाधान खोज्ने साझा प्रयासमा जोड दिन पनि आग्रह गर्नुभयो ।

