मोरङको जहदामा बहुप्रकोपजन्य साइरन जडान

विराटनगर ९ असाेज । सम्भावित बहुप्रकोपजन्य घटनालाई पूर्व जानकारी दिने उद्देश्यले मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ मा बहुप्रकोपजन्य साइरन सञ्चालनमा ल्याएको छ ।

जहदा गाउँपालिकाका सात वटा वडाहरु मध्ये वडा नम्बर एक, दुई र सात नम्बर वडा बाढी र डुबानबाट हरेक बर्ष क्षति हुँदै आएकाले क्षति न्युनीकरण गर्ने उद्देश्यका साथ साइरन जडान गरिएको पूर्व तयारी तथा पूर्व अनुमान समावेशीद्धारा विपद प्रभाव न्यूनीकरण कार्यक्रमका संयोजक तेज श्रेष्ठले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी मोरङ र जहदा गाउँपालिकाको सहकार्यमा जडान गरिएको साइरनले विपद पूर्व सुचना जानकारी दिने छ ।

मोरङको लेटाङ नगरपालिकासँग समन्वय गरेर लोहन्द्रा खोलाको शिरमा बर्षामापन केन्द्र राखिएको र त्यहाँ २४ घण्टामा दुई सय मिलिमिटर पानी पर्दा लोहन्द्रा खोलामा बाढी आउँछ ।

लोहन्द्रा खोलाको रामचौकमा रिभर स्टेशन राखिएकाले पानीको बहाब बढेमा साइरन बज्ने भएकाले स्थानीयहरु सचेत हुने श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दे मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साइरन जडानले विपदबाट हुने जोखम न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भयो ।

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र उपाध्यक्ष हन्ना सोरेनले जहदा गाउँपालिकामा बर्षेनी बहुप्रकोपजन्य विपद बाढी, डुबान, सर्पदंश, आगलागी लगायतका विपदका कारण धनजनको क्षति पुग्ने गरेको बताउँदै अब क्षति न्युुनीकरण हुनेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो ।

विपत पूर्व तयारी स्वरूप रेडी प्रोग्राम अन्तर्गत नेपाल रेडक्रस मोरङ शाखाले साइरन राखेको नेपाल रेडक्रश सोसाइटी मोरङ शाखाका सभापति सुकदेव मण्डलले बताउनु भयो ।

बहुप्रकोपजन्य साइरनवाट जहदा गाउँपालिकका एक, दुई र सातका स्थानीयहरुलाई सचेत गराउनेछ । लोहन्द्रा खोलामा आउने बाढीका कारण स्थानीयहरू लामोसमयदेखि पिडित बनेका थिए । सम्भावित अन्य बहुप्रकोपजन्य घटनालाई समेत पूर्व जानकारी दिने उदेश्यका साथ यो साइरन राखिएको हो ।

साइरनमा १० वटा अंक जडान गरिएको छ । एकदेखि १० अंकमा फरक फकर साइरन बज्ने छ ।

एक थिचेमा बाढी आउन लाग्यो तुरुन्त सुरक्षित हुनुहोस , दुई थिचेमा गाउँमा आगलागी छ, आगो निभाउन मद्दत गर्नुहोस्, तिनमा सावधान चटयाङ् पर्न सक्छ, सुरक्षित स्थानमा जाउ लगायतका सुचना राखिएको छ । यस्ता साइरन जोखिम हुने अन्य स्थानमा पनि जडान गरिने आयोजकले जनाएको छ ।

रेडी प्रोग्रामले जहदा गाउँपालिकामा विपदको जोखमबाट बच्न विभिन्न सचेतना कार्यक्रम गर्नुका साथै तटबन्धन निर्माण लगायतका कार्य गर्दे आएको छ ।