जेनजी आन्दोलनबाट भएको क्षतिको छानबिन हुनुपर्छ : डा कोइराला

विराटनगर, ४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जेनजीको आन्दोलन संविधान संशोधनतर्फ रहेको बताउनुभएको छ ।

विराटनगर स्थित कोइरालाल निवासमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले जेनजी आन्दोलनबाट भएको क्षतिको छानबिन हुनु पर्ने भन्दै भदौ २३ र २४ गते भएको घटनाको अलग–अलग छानबिन हुनु पर्ने कुरामा जोड दिनुभयो ।

नेता डा. कोइरालाले संविधानमा कम क्षति हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तत्कालीन समयमा चालिएको कदम ठिक छ भन्दै अहिले संविधानमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री छात्रुपर्ने प्रावधन नरहेको बताउनुभयो । उहाँले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगर स्थितका कोइराला निवास जल्नु सामान्य कुरा नभएको भन्दै राणा काल देखि नै प्रजातन्त्र र लोकतन्त्रको लडाइ लड्दै आएको संस्था जल्नु दुःखद रहेको बताउनुभयो ।

उहाँले भौतिक संरचना जलेपनि नेपाली कांग्रेसको इतिहास भने नजलेको जिकिर गर्दै सयमता अपनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश सभा भंग गर्ने प्रावधान संविधानमा नरहेको जिकिर गर्दै अहिले सरकारको लक्ष्य निर्वाचन रहेको बताउनुभयो ।

नेता डा कोइरालाले नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरण हुने विषयमा कुनै छलफल नभएको भन्दै सरकारले सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर भएको भए यसकिसिमको क्षति नहुने दावी गर्नुभयो ।