मोरङ क्षेत्र नं. ६ को सुझाव लिएर विधान महाधिवेशनमा जाँदै पोखरेल

विराटनगर १९ भदौ । नेकपा एमालेका नेता नरेश पोखरेलले काठमाण्डौंमा भोलि देखि शुरु हुने दोश्रो विधान महाधिवेशनका लागि सुझाव संकलन गर्नु भएको छ ।

मोरङ क्षेत्र नंं ६ का विधान महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पोखरेलले निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरि विधान महाधिवेशनमा प्रस्तुत गर्ने सुझावहरु संकलन गर्नु भएको छ ।

क्षेत्र नं. ६ अन्र्तगतका पार्टीका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार, सामाजिक क्षेत्र लगायतको सहभागितामा विधान महाधिवेशनको सुझाव लिनु भएको हो ।

सहभागीहरुले पार्टीमा उमेर हदको प्रावधान हटाए पनि एउटा व्यक्तिले दुई कार्यकालभन्दा बढी नेतृत्व गर्न नहुने, पार्टीभित्र देखिएको अनुशासन हीनतालाई सुधार गर्नुपर्ने, जिल्ला कमिटीलाई कार्यकारी बनाई पालिका कमिटीलाई जिल्ला मातहतको कार्यकारी समिति बनाउनु पर्ने, प्रदेश कमिटीको भूमिका समन्वयकारी हुनुपर्ने,

पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न हरेक कमिटी चयन गर्दा आन्तरिक प्रतिष्पर्धा गर्न दिने तथा उपल्लो कमिटीका नेताहरूले पक्षपोषण गर्न नपाउने, पार्टी सदस्यता दुइ किसिमको बनाउनु भन्दा संगठित सदस्यता प्राप्त गर्न जनवर्गीय संगठनमा आवद्ध भएको निश्चित समय तोकेर संगठनको सिफारिसमा मात्र दिने ब्यबस्था गर्नु पर्ने सुझाव दिएका छन् ।
पोखरेलले सहभागि बाट आएका रायलाई आफूले विधान महाधिवेशनमा स्पष्ट रुपमा राख्ने बताउनुभयो । उहाँले यस अघि बिभिन्न क्षेत्रका बुद्दिजीविहरूसँग पनि राय सुझाव संकलन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, वडा नंं ४ र ११ का वडाध्यक्षहरु जितन थापा, तिर्थेन्द्र न्यौपाने, प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, अधिवक्ता रुक्मीणा दाहाल लगायत एक दजएन बढीको सहभागिता रहेको थियो ।

नेकपा एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । विधान महाधिवेशनमा मोरङबाट पोखरेल सहित भूगोल क्षेत्रबाट ५८ जना प्रतिनिधिहरु सहभागि हुँदैछन् ।