
विराटनगर, १० भदौ । आगामी भदौ १३ गते शुक्रबार हुने त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको निर्वाचनका लागि मङ्गलबार १४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
सङ्घको क्याम्पस इकाइको ११ जनाको कार्य समितिका लागि १४ जनाले मम्मेद्वारी दर्ता गराएको सङ्घको क्याम्पस इकाइ निर्वाचन समितिले जनाएको छ ।
नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक प्रध्यापक संघको तर्फबाट नविन अधिकारी, डा उपेन्द्र मेहता, डा. राजेन्द्र प्रसाद चौधरी, जयनारायण यादब,सीताराम चौलागाई र युवराज साहुले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
नेकपा एमाले निकट नेपाल प्रगतिशित प्रध्यापक सङ्गठनको तर्फबाट माधव रेग्मी, बाबुराम बुढाथोकी, नीलमणी भट्टराई र तुलसीप्रसाद निरौलाको उम्मेद्वारी दर्ता भएको छ ।
नेकपा माओबादी निकट नेपाल राष्ट्रिय प्रध्यापक संङ्गठनको तर्फबाट सूर्य नारायण यादब तथा स्वतन्त्र रुपमा जनक सापकोटा र अर्जुन तामाङले मनोनयन दर्ता गराउनु भएको छ ।
संघको बैधानिक व्यवस्था अुनसार उक्त इकाइ समितिमा एकल सङक्रमणिय निर्वाचन प्रणालीका आधारमा कार्य समितिका ११ जना सदस्यहरु निर्वाचित हुन्छन् ।
निर्वाचित सदस्यहरुमध्येबाट सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष गरी पाँच जना पदाधिकारीहरुको छनौट हुने सङ्घको बैधानिक व्यवस्था रहेको छ ।
कुल १०५ जना मतदाता रहेको क्याम्पसमा नेपाली काँग्रेस निकट प्रध्यापकहरु ६०, एमाले निकट प्रध्यापकहरु ३३, माओबादी निकट नौ र अन्य स्वतन्त्र रहेकाछन् ।
मतदाता सङ्ख्याको आधारमा एक जना सदस्य निर्वाचित हुनका लागि नौ मत प्राप्त गर्नु पर्दछ । सो आधारमा काँग्रेस निकटले छ जना, एमाले निकटले तीन र माओबादी निकटले एक जना सदस्य निर्वाचन गराउन सक्ने अवस्था रहेको छ ।