
विराटनगर ३० साउन । सुनसरी धरानको महेन्द्र बहुमुखी क्याम्पसका नाममा उच्च अदालत विराटनगरले उत्प्रेशणयुक्त परमादेश जारी गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरानमा एलएल.बी. मा अध्ययनरत इश्वर कट्टेलले दायर गरेको मुद्दामा न्यायाधिशद्वय श्रीधराकुमारी पुडासैनी र कृपासुर कार्कीको इजलाशले बुधवार क्याम्पसका नाममा उत्प्रेशणयुक्त परमादेश जारी गरेको हो ।
रिट निवेदक कट्टेलले कानून बमोजिमको प्रकृया पुरा गरी एलएलबी पहिलो वर्षमा पठनपाठन गरिरहेको अवस्थामा निवेदक कट्टेलले प्रथम वर्षको परीक्षामा सहभागीहुनका लागि भरेको फर्म विपक्षी क्याम्पसले बुझ्न नपर्ने कानूनी व्यवस्था नदेखिएको भन्दै अदालतले रिट निवेदकलाई परीक्षामा सामेल हुनदिनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
निवेदक कट्टेलले एलएलबीमा भर्ना गरेपछि पूर्वाञ्चल विश्वविद्यालयबाट माइग्रेसन सर्टिफिकेट ल्याएको भन्दै क्याम्पसले निवेदक कट्टेललाई पहिलो वर्षको परीक्षाफर्म भर्नबाट बञ्चित गराएको थियो ।
नियमित पठन पाठनमा सहभागी भएकै अवस्थामा क्याम्पसले परीक्षाबाट बञ्चित गर्ने उद्देश्यले परीक्षा फर्म नबुझेपछि कट्टेलले साउन २१ गते बुधवार महेन्द्र बहुमुखी क्याम्पस धरान, क्याम्पस प्रमुख चन्द्रकुमार राई, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालय काठमाण्डौं र डीन कृष्णप्रसाद बस्याल विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिट निवेदनमाथि सुनुवाई गर्दै अदालतले विपक्षीहरुका नाममाउत्प्रेषणयुक्त परमादेश जारी गरेको हो ।
निवेदकका तर्फबाट अधिवक्ता मुक्तिनाथ सुवेदीले बहस गर्नु भएको थियो । विपक्षीहरुको तर्फबाट अधिवक्ता डा. नेवल चौधरी र वरिष्ठ अधिवक्ता गोविन्दमणी दाहालले बहस गर्नुभएको थियो ।