कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार महेन्द्र विष्टलाई

विराटनगर २५ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई प्रदान गर्ने भएको छ । शनिबार बसेको प्रतिष्ठानको बैठकले कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार बिष्टलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि २१ हजार एकसय १५ रुपैयाँ नगद छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिताको विषय अध्यापनसमेत गराउँदै आउनुभएका विष्ट गोरखापत्र दैनिक र अरुण खवर अनलाईनमा आबद्ध हुनुहुन्छ ।

प्रतिष्ठानले यूवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौलालाई सम्मान गर्ने भएको छ । महिला उद्यमी सम्मानबाट बराह हर्बल उद्योग विराटनगरकी सञ्चालक अम्बिका भण्डारी, स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयका छात्रा पिंकीकुमारी स्वर्णकार र छात्र सुशीलकुमार खत्वेलाई नगदसहित कदर पत्र प्रदान गरिने प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देलले जानकारी दिनुभयो ।

स्वर्गीय सिग्देलले सञ्चालन गरेको स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि.का कर्मचारी कल्याण कोष र चालक कल्याण कोषलाई नगद क्रमश ५१ हजार र २१ हजार तथा मजदुरहरुलाई कपडा वितरण गरिने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । सबै पुरस्कार र सम्मान साउन २७ गते वितरण गरिने छ ।

यूवा व्यवसायी कृष्णप्रसाद सिग्देलको २०६६ साल साउन २७ गते काठमाडौँमा ४८ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । त्यसयता उहाँको नाममा स्थापित प्रतिष्ठानले हरेक बर्ष बिभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।