
विराटनगर, २४ साउन । नजिकै आउँदै गरेको चाडवाडमा उपभोक्ताहरु तौल, मूल्य वृद्धि तथा उपभोग्य सामाग्रीको अभावबाट ठगिने कार्यलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तिव्रता दिन सरोकारवालाहरुले सुझाव दिएका छन् ।
भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित चाडपर्व लक्षित कालोबजारी नियन्त्रण एवं बजार अनुगमन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले म्याद सकिएका उपयोग्य सामाग्री तथा औषधिहरु बजारमा विक्री वितरणले मानवको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न हुने गरेकोले त्यसको अविलम्व नियन्त्रण गरी विक्रेतालाई रु एक लाख देखि रु दुई लाखसम्म जरिवाना गर्नुपर्ने जोड दिएको छ ।
विश्वको परिपाटी अनुसार उपभोक्ताको राष्ट्रियता हुदैन र गुणस्तर एवं सुपथ मूल्यमा सामाग्री स्थानीय बजारमा उपलव्ध गराएमा खरीदका लागि सीमावर्ती भारत जाने कार्यको अन्त्य हुने सहभागीहरुले दावी गरेका छन् ।
चाडवाडमा मात्र नभएर वर्षभरि बजारको अनुगमन गर्नुपर्नेमा सहभागीहरुले जोड दिँदै दशै, तिहार र छठका लागि एक महिना अगाडि सस्तो बजार लगाउनु पर्ने सुझाव दिएका छन् ।
मोरङ प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उपभोक्ताहरुको गुनासो सम्वोधन गर्ने बताउँदै मोरङको कटहरीस्थित छ किलोमिटर हुलाकी सडक निर्माणका लागि सम्बन्धित निकायमा पत्राचार गरेको जानकारी गराउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले चाडपर्व लक्षित विशेष सुरक्षाको व्यवस्था गर्ने बताउँदै भीडभाड क्षेत्रमा नागरिक सुरक्षा हेल्प डेस्क राख्ने जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष मोहन भण्डारी र प्रा कृष्णप्रसाद पोखरेलले स्वदेशी बजारमा उपभोक्ता तौलमा ठगिने कार्यको अन्त्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा विभिन्न सरकारी सेवा प्रदायक संस्था, विभिन्न उपभोक्ता संघसंगठनका प्रतिनिधिहरु र उपभोक्ताको सहभागिता रहेको थियो ।