
विराटनगर २४ असार । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा तत्काल सुचारु गर्न नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै चिकित्सक संघको नेतृत्वमा हिजोबाट जारी आन्दोलनका कारण नागरिकहरू अधिकारबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण गराएको हो । ‘स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका अन्योलता तथा अस्पष्टताहरुलाई सार्थक वार्ता र संवादबाट समाधान गर्न तथा उपभोक्ता अदालतको निर्णयमा देखिएका असहमतिका सम्बन्धमा कानुनी प्रक्रियाको अवलम्बन गर्न र स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आयोग नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गर्दछ,’ प्रवक्ता पाखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मुलुकभरका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा आकस्मिक तथा सघन कक्षबाहेकका स्वास्थ्य सेवा बन्द गरिँदा आमनागरिक स्वास्थ्यको अधिकारबाट वञ्चित हुनु परेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
चिकित्सकहरू हिजोदेखि देशभर सघन कक्षबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् । जुन विषयमा आयोगका उजुरी समेत परेको प्रवक्ता पोखरेलले बताउनुभयो । नागरिकले सरल र सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने हकको उल्लंघन भएको भनी आरोपमा उजुरी समेत प्राप्त भएको उहाँले बताउनुभयो ।