
विराटनगर २१ असार । विराटनगरको ग्रीनल्याण्ड कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाबाट सम्मानित गरिएको छ । काठमाण्डौं उपत्यका बाहिरबाट सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा चन्द्रलोक प्रतिष्ठान नेपालले आज काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा ग्रीनल्याण्ड कलेजलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२ प्रदान गरिएको हो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कलेजका प्रिन्सीपल दिनेश दाहाललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गर्नु भएको थियो । ग्रीनल्याण्ड कलेजले प्लस टुमा विशेषगरी, मेडिकल, इन्जिनियरिङ र सिम्याट प्रवेश परीक्षामा उपत्यकाबाहिर सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल भएकाले यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
कलेजले प्राप्त गरेको सफलताका लागि सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक र समाजप्रति कलेज परिवार प्रति प्रिन्सीपल दाहालले आभार व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो,‘यस किसिमको सम्मानले हामीलाई भविष्यमा अझ बढी लगनशीलता र समर्पणका साथ शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउन प्रेरित गरेको छ ।’
कलेजले विज्ञान, होटेल मेनेनमेन्ट र व्यवस्थान संकायमा अध्यापन गराउँदै आएकोछ । कक्षा ११ मा भर्नाका लागि असार १८ गते लिईएको प्रवेश परीक्षामा १ हजार ५१ जना विद्यार्थीले सहभागि भएका थिए ।