
विराटनगर, २० असार । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) विराटनगर च्याप्टरले अर्थविद् एवम् प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग लर्निङ सेसन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विराटनगरमा आज आयोजित कार्यक्रममा बोल्दै उपसभापति डा. वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन जोखिम मोलेर उत्पादन र उच्च उत्पादकत्व गर्छु भन्ने अठोटका साथ काम गर्न सुझाव दिनुभयो । उहाँले कुनैपनि कार्य थालनी गर्दा म उत्कृष्ट गर्न सक्छु, म गर्छु भन्ने दृढ संकल्पका साथ लागेर गर्न आग्रह गर्नुभयो । उपसभापति डा। वाग्लेले एक सफल उद्यमी बन्नकालागि लगनशीलता, सहनशीलता र धैर्यता आवश्यक रहेकोमा जोड दिनुभयो ।
अन्तरक्रियामा सहभागी एनवाइइएफमा आवद्ध युवाहरुले नेपालको आर्थिक विकाश, उद्यमशीलता, स्थानीय उत्पादनको ब्राण्डिङ, स्थानीयस्तरमै रोजगारीलगायतका विषयमा जिज्ञासा राखेका थिए । यस्तै उनीहरुले स्टार्टअपलाई प्रोत्साहन तथा विदेशीएका युवालाई स्वदेश फर्काउने पहल कसरी गर्न सकिन्छ भन्ने जस्ता प्रश्न पनि उठाएका थिए ।
विशेषगरी युवाहरुले नेपालमा उत्पादित वस्तुलाई कसरी अन्तर्राष्ट्रिय ब्राण्डमा जोड्ने भन्ने कुरामा जोड दिएको एनवाइइएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिनुभयो । सहभागीहरुले तीनै तहको बजेटका विषयमा पनि कुरा राखेको अध्यक्ष सिग्देलले बताउनुभयो ।
कार्यक्रममा सांसद एवम् रास्वपाका प्रवक्ता मनिष झा र सांसद एवम् रास्वपाको उद्योग विभाग प्रमुख गणेश पराजुली पनि सहभागी हुनुहुन्थ्यो ।
युवा उद्यमी मञ्च विराटनगरका पूर्वअध्यक्षहरु, वर्तमान कार्यसमितिका सदस्यहरु, मञ्चमा आवद्ध युवा उद्यमीहरुको पनि उपस्थिति थियो ।