
विराटनगर १९ असार । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ।
कलेजले आज आयोजना गरेको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका छन् । कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको भएपनि १ हजार ४ सय ३२ जना विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए। यो संख्याले कलेजप्रति विद्यार्थीहरूको बढ्दो आकर्षण र विश्वासलाई देखाएको छ ।
संकायगत कोटा वितरणका आधारमा कलेजमा विज्ञान संकायमा ४ सय ५० जना, व्यवस्थापन संकायमा ४ सय ५० जना र होटल व्यवस्थापन संकायमा १ सय ५० जनाको कोटा निर्धारण गरिएको छ। सबै संकायमा कोटाभन्दा बढी विद्यार्थीहरूले आवेदन दिएका छन् ।
प्रिन्सिपल नेपालका अनुसार, एसईईमा ४ जिपिए ल्याउनेदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूले कान्तिपुर कलेजलाई आफ्नो पहिलो रोजाइको रूपमा लिएका छन्। यसले कलेजको शैक्षिक गुणस्तर र प्रतिष्ठालाई झल्काउँछ ।
‘हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं र विद्यार्थीहरूको यो उत्साहजनक सहभागिताले हाम्रो मेहनत र लगनशीलताको परिणाम देखाएको छ,’ प्रिन्सिपल नेपालले भने । कलेजले आफ्ना विद्यार्थीहरूलाई आधुनिक सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यसैले गर्दा कलेजको प्रतिष्ठा र विश्वसनीयता निरन्तर बृद्धि भइरहेको छ।
प्रवेश परीक्षाको परिणामको आधारमा योग्य विद्यार्थीहरू छनोट गरिने र छनोट भएका विद्यार्थीहरूलाई भर्ना प्रक्रिया अगाडि बढाइने कलेजले जनाएको छ ।