
विराटनगर १८ असार । विराटनगर–५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना हुन लागि ५१७ जनाले आज प्रवेश परिक्षा दिएका छन् । सिमित सिटमा मात्र भर्ना लिने एभरेष्टले विज्ञान र व्यवस्थापन संकायका लागि प्रवेश परिक्षा लिएको हो ।
एभरेष्ट कलेजले विज्ञान संकायमा चार सेक्सनका लागि १४० जना र व्यवस्थापन संकायको तीन सेक्सनमा १०५ जना मात्र विद्यार्थी भर्ना लिइने बताएको छ । प्रवेश परिक्षा दिने विद्यार्थीहरूमा ४ जीपीए ल्याउने ५ जना प्रेम खतिवडा, कृति गोयल, श्रेय शर्मा, संयोग भट्टराई र अर्पण रोयले प्रवेश परिक्षा दिएका छन् ।
सुविधासम्पन्न भौतिक संरचना, अनुभवी प्राध्यापकहरु, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण तथा पर्याप्त खेलकुद र अतिरिक्त कृयाकलापले विद्यार्थी तथा अभिभावकलाई मोहित बनाउँदै आएको छ । ‘हामी विद्यार्थीको संख्या धेरै बनाउन नभई हाम्रा विद्यार्थीलाई अब्बल बनाउन चाहन्छौं’ प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘हामी हाम्रो कोटा अनुसार मात्र विद्यार्थी भर्ना लिनेछौं ।’
एभरेष्टले यस वर्षदेखि विद्यार्थीलाई युग सापेक्ष अघि बढ्न एआई (कृतिम बौद्धिकता) , साइबर सेक्यूरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भएको छ ।