
विराटनगर ९ असार । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अपाङ्गता पुर्नस्थापना कार्यक्रमका लागि अतिन्युन वजेट विनियोजन गरेको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले मंगलबार देखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
आन्दोलनको कार्यक्रम अन्र्तगत मंगलबार प्रदेश सभा भवन अगाडी प्रदेश सभा सदस्यहरुलाई ज्ञापन पत्र बुझाइने भएको छ । असार ११, १२ र १३ गते सामाजिक विकास मन्त्रालयमा धर्ना र असार १४ देखि सामाजिक विकास मन्त्रालयमा रिले अनसन शुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
करुणा फाउन्डेसनले आगामी आर्थिक वर्ष २०८२–०८३ मा ६४ स्थानीय तहहरुमा गर्ने लगानीलाई निरन्तरता प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने,अपाङ्ग पुर्नस्थापना कार्यक्रमका लागि अपुग रकम ३ करोड १३ लाख ४३ हजार ७४५ को अविलम्व व्यवस्था गर्नुपर्ने लगायतका ७ बुँदे माग सहित आन्दोलनको घोषणा गरिएको राष्ट्रिय अपाङ्ग महासंघ कोशीका सचिव गोपालमान थापाले जानकारी दिनुभयो ।
अपाङ्ग पुर्नस्थापना कार्यक्रम स्थानीय सरकार, प्रदेश सरकार र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारीमा कार्यक्रम सञ्चालित छ ।
प्रदेश सरकारले सो कार्यक्रम सञ्चालनका लागि ११ करोड बजेट विनियोजन गरेको छ ।