बाँतर जातिको धर्म संस्कृति संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ९ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाँतर जातिको धर्म संस्कृति संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र र युवा समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले बाँतर जातिको र्धम संस्कृति संरक्षणका लागि सहयोग गर्ने शनिवारवार प्रतिवद्धता जनाउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले बाँतर जातिकालगायत कोशी प्रदेशमा रहेको अन्य जातिहरुको धर्म संस्कृत संरक्षणका लागि प्रतिवद्धरहेको बताउनुभयो । उहाँले बाँतर जातिको सांस्कृितक भवनको थप निर्माण गर्न र कोशी प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रदेश सरकारले बाँतर जातीको आर्थिक, सामाजिक, स्वास्थय र शिक्षाको क्षेत्रमा अगाडी बढाउने खालको नीति तथा कार्यक्रम निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपालको तराई, मधेश, भित्री मधेश र बाह्य क्षेत्रमा अवस्थित अनेकौ जंगलीफाँटहरुमा परापूर्वकालदेखिनै वन्तरा जातिको बसोवास रही आएको कथन रहेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी केन्द्रीय सभापति मोहनलाल सरदारले बताउनुभयो ।

सुरुमा रहेको वन्तरा शब्द वि.स. १७२० साल तिर आईपुग्दा अपभ्रम्स भई बाँतर हुन आएको यस जातीका अगुवा तथा ईतिहास विद्हरुले अधिवेशनमा बताएका थिए । उनीहरुको भनाईअनुसार वन्तरा भन्नाले वनको राजा भन्ने जनाउँछ । यस जातिलाई हाल सरदार पनि भन्ने गरिन्छ ।

बाँतर जाति आदिवासी भए पनि अहिले दलितमा सुचिकृत रहेको उत्थान केन्द्रका केन्द्रीय सभापति चन्द्रदेव सरदारले जानकारी दिनुभयो । पाँचौ राष्ट्रिय महाधिवेशनमा मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहा, धनुषा, मोहत्तरीलगायत १६ वटा जिल्लाबाट ५ हजार भन्दा बढीको संख्यामा सहभागीता रहेको थियो ।