
विराटनगर ४ असार । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्म २० अर्ब ११ करोड बजेट खर्च गरेको छ । यो कुल बजेटको ५७ प्रतिशत हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
मध्यावधि समीक्षामा भने चालु आर्थिक वर्षको बजेट ३१ अर्ब ५८ करोड ९९ लाख कायम भएको छ । संशोधित अनुमान मध्ये २८ अर्ब बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । सरकारको लक्ष्य अनुसार काम गर्नका लागि असार २५ गतेसम्म ८ अर्ब खर्च गर्नुपर्नेछ । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा भने ५४.८ प्रतिशत बजेट खर्च भएको थियो । चालु वर्षको चालु खर्चतर्फ ५६.२ प्रतिशत अर्थात ७ अर्ब ३२ करोड ९९ लाख र पुँजीगत खर्चतर्फ ४९.२ प्रतिशत अर्थात ८ अर्ब ५३ करोड २० लाख खर्च भएको छ ।
प्रदेश सरकारले चालु खर्चका लागि १३ अर्ब ४ करोड ४० लाख र पुँजीगत खर्चका लागि १७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै स्थानीय तह अनुदानका लागि छुट्ट्याएको ४ अर्ब ८५ करोड ६५ लाखमध्ये हालसम्म ८७.५ प्रतिशत अर्थात ४ अर्ब २४ करोड ८१ लाख खर्च भएको छ । गत वर्षको तुलनामा यस वर्ष प्रदेशको आन्तरिक राजस्व सङ्कलनमा २४.१ प्रतिशतले वृद्धि भएको छ ।
जेठ मसान्तसम्ममा प्रदेशले ४ अर्ब २२ करोड ३० लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ, जुन वार्षिक लक्ष्य ५ अर्ब ९८ करोडको ८४.८ प्रतिशत हो । संघीय सरकारबाट प्राप्त हुने अनुदान भने घटेको छ । गत वर्षको तुलनामा सशर्त अनुदान ३५.६ प्रतिशत र विशेष अनुदानमा २१.९ प्रतिशतले कमी आएको छ ।