
विराटनगर २ असार । झापाको विर्तामोडमा नीजि क्षेत्र र राष्ट्रिय योजना आयोग बीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय योजना आयोगले १६ औँ योजना कार्यान्वयन, कम विकसित मुलुकबाट स्तरोन्नति, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा निजी क्षेत्रसँगको छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोग, काठमाण्डौं र नेपाल उद्योग वाािण्ज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालले अब निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ नेपालको निर्यात व्यापार विस्तारका लागि अब कृषि, जडीबुटी, अलैँची, चिया, अदुवा, सुपारीजस्ता नगदे बालीलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरिनुपर्छ। यस्ता कार्यक्रमहरू नीति निर्माणमा प्रत्यक्ष सघाउने छन् ।’ उहाँले भन्सार पूर्वाधारको सुधार, भन्सार प्रक्रियामा सहजता, गुणस्तर प्रमाणीकरण, अन्तर्राष्ट्रिय बजारको पहुँच, यातायात पूर्वाधारमा लगानी र निजी क्षेत्रसँग सहकार्यलाई दिगो विकासको मेरुदण्डका रूपमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी व्यवसायीहरूद्वारा नेपालबाट हाल निर्यात भैरहेका चिया, अलैँची, अदुवा, सुपारी, जडीबुटी लगायतका नगदे बाली तथा भविष्यमा सम्भावित अन्य कृषिजन्य वस्तुहरूबारे बहस गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष पोख्रेलले निजी क्षेत्रको अनुभव र सरकारी नीतिको सहकार्यमा निर्यात व्यापार सुदृढ बनाउने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मेची भन्सार कार्यालयका अधिकृत हरिहर पौडेल, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, गोकुल श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य केशवमणि पाण्डे,नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, दमक उद्योग वाणिज्य संघका गोपाल गुरागाई, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की, चिया निर्यातकर्ता समेत रहेकी शान्ता बाँस्कोटा कोइराला लगायत कोशी प्रदेशका अग्रणी उद्योगी तथा व्यवसायीहरू सहभागिता रहेको थियो ।