नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरमा सञ्जीव सिग्देल

विराटनगर १ असार । नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगर च्याप्टरको अध्यक्षमा सञ्जीव सिग्देल चयन हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न २१ औं अधिवेशनले सिग्देलसहित सिङ्गो कार्यसमिति निर्विरोध चयन गरेको हो ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा रोनक कट्टेल, उपाध्यक्षमा रितेश खनाल र लर्निङ चेयरमा सागर ढुङ्गाना चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमा संयम श्रेष्ठ, आरनेस श्रेष्ठ, उत्कृष्ट भट्टराई, अंकिता गिरी, अभिषेक केडिया, अनुभव दाहाल र अभिषेक अग्रवाल चयन हुनुभएको छ ।

सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष सिग्देलले आफूलाई निर्विरोध अध्यक्ष चयन गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै राम्रा कामलाई निरन्तरता दिएर आफ्नो कार्यकालमा अझ राम्रा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष सिग्देलले एनवाइएफलाई ग्लोबल प्ल्याटफर्ममा लाने र आइटी सम्बन्धि कार्यक्रम गर्ने तथा तीनै तहका सरकारसँगको सहकार्यमा अघि बढेर नयाँ कार्यक्रम ल्याउन प्रयास गर्ने बताउनुभयो । अध्यक्ष सिग्देलले देशको वर्तमान राजनीतिक अस्थिरताका कारण युवाहरु विदेश पलायन भइरहेको सन्दर्भमा अब युवालाई रोक्न सक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नवनिर्वाचित अध्यक्ष सिग्देल दुई महिना अघि मात्र विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा निर्बाचित हुनुभएको थियो । स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि. का सञ्चालक युवा व्यवसायी सिग्देल अन्य विभिन्न व्यवसाय र सामाजिक संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ ।

कार्यक्रममा अध्यक्ष सिग्देलले निवर्तमान अध्यक्ष शुभम् भट्टराईलाई सफल कार्यकाल सम्पन्न गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

यसअघि कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष भट्टराईले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा युवा उद्यमी मञ्चका पूर्व अध्यक्षहरू सुरेश प्याकुरेल, मनोज बिक्रम शाह, सृजन प्याकुरेल, युनेशराज श्रेष्ठ, राघव कोइराला र मञ्चमा आबद्ध विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।