
विराटनगर २९ जेठ । स्थानीय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास तालिम आजदेखि विराटनगरमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र उदय परियोजनाको सहकार्यमा ३ दिने तालिम शुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महासंघ कोशी क्रियाशिल रहेको बताउदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजना बीच भएको सम्झौता बमोजिम स्थानीय व्यवसायिक विकास परामर्शदाता मार्फत कोशी प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसायीको पूँजीमा पँहुच बढाई, लगानी तथा नवप्रवर्तन अनुकुल व्यवसायिक वातावरण सृजना गर्नका लागी यस प्रदेशमा सकृय साना तथा मझौला उद्योग व्यवसायीलाई लक्षित गरी व्यवसायिक विकास परामर्शदाता परिचालन गर्ने कार्यको शुभारम्भ भएको बताउनु भयो ।
महासंघ कोशीले केहि महिना अघिबाट, उपाय बिजिनेस सोलुसन सगको सहकार्यमा वीडिएस सेवाको सुरुवात गरेको जानकारी दिदै वहाले अहिले कृषि क्षेत्रका करिब १ दर्जन कृषि उद्यमीहरुको ब्याजमा अनुदान कर्जाको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा सहजीकरण गरिरहेको उल्लेख गर्नु भयो ।
उदय परियोजनाका बिडीएस लिड बिष्णु काफ्लेले परियोजनाको बारेमा जानकारी दिदै साना तथा मझौला उद्यमीहरुको लागि व्यवसायिक विकास परामर्शदाताहरुको सेवाले व्यवसाय विकास, बजार नेटवर्क विस्तार, लगानी आकर्षण, सरकारी नीतिगत जानकारी, अनलाइन प्रणाली तथा नवप्रवर्तनमा महत्वपूर्ण भूमिका प्लेट फर्म रहने बताउनु भयो ।
तीन दिन सम्म चल्ने उक्त कार्यक्रमको सहजीकरण उपाय बिजिनेस सोलुसन काठमाडौँबाट साजन पाठक र बालाजी खनालले गर्नु भएको छ । कार्यक्रममा कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघका ३० जना सचिवालय प्रमुख र स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको सहभागिता रहेको उद्योग बाणिज्य महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिनुभयो ।