विराटनगरको डुबान समस्या, पूर्वाधार निर्माणबारे एमाले विराटनगरद्धारा मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण

विराटनगर २८ जेठ । नेकपा एमाले महानगर कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विराटनगरको विकासका बारेमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

महानगर कमिटीका अध्यक्ष बलराम गिरी नवीनका अनुसार कोशी प्रदेशको राजधानी विराटनगर भएपनि यहाँको विकासमा कसैले चासो नदिएपछि ज्ञापनपत्र बुझाइएको हो । उहाँले विराटनगरको डुबान समस्या, पूर्वाधार निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताउनुभयो ।

ज्ञापनपत्रमा विराटनगर चक्रपथ, प्रदर्शनी केन्द्र, यातायात सुधार, क्रिकेट रङ्गशालाको स्तर उन्नति, केशलिया तटबन्द लगायतका विषय उठाइएको छ ।

महानगरका सचिव विज्ञान चापागाईंले विराटनगरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि ज्ञापनपत्रको विषय महत्त्वपूर्ण हुने बताउनुभयो। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महानगरले उठाएका विषयलाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने बताउनुभयो ।