जीवन विकास सामुदायिक अस्पतालको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

विराटनगर २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा मेडिकल कलेज स्थापनाका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

मोरङको कटहरीमा जीवन विकास समाजले स्थापना गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन प्रालीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउनु भएको हो ।

ओलीले भन्नुभयोे ‘जीवन विकासले मेडिकल कलेज खोल्ने लक्ष्य राखेको रहेछ । यो प्रयासलाई सरकारले जे जस्तो सहयोग गर्न सक्छ सहयोग गर्न तत्पर छ ।’ ओलीले रोजगारी भनेको जागिर मात्रै नभई काम गर्नु भएको बताउनुभयो । उहाँले उद्यमशीलता मात्रै रोजगारीका अवसर सृजना हुने र काम गर्न अवसर पाइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयोे ‘कुराले उद्यमशीलता हुँदैन, काम गरेर मात्रै उद्यमशीलता हुन्छ। रोजगारी सृजना हुन्छ ।’ कुनै पनि देश आफ्नै प्रयासबाट बन्ने भएकाले अरूले आएर देशको विकास नगर्ने उहाँको भनाइ थियो । कमजोरी, अभाव, गरिबी र अशिक्षा अन्त्य गर्न कामनाले मात्रै नहुने, प्रयासबाट सम्भव हुने उहाँले सुनाउनुभयो ।

कटहरी गाउँपालिका –२ स्थित हल्दिबारीमा बीस विघा जमीनमा दुई अर्ब लगानीमा दुई सय शैय्याको सामुदायिक अस्पताल आज देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । जीवन विकास अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले अस्पतालले अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने सांसद मण्डलले बताउनु भयो । अस्पताल निर्माणका लागि एक अर्व ३० करोड जीवन समाजको र ७० करोड बैंकबाट ऋण लिएर लगानी गरिएको छ । कोशी प्रदेशको तराईका दक्षिण क्षेत्रका रहेका विपन्न वर्ग जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्य राखी फाउण्डेशनको स्थापना गरिएको मण्डलले बताउनुभयो ।

अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सक मार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरुबाट दैनिक वहिरङ्ग सेवा, साधारण तथा पेनलेस डेलिभरी सेवा, जेनरल तथा आइसियु, एनआईसियु, सिसियु, एचडिसियु, पिआईसियु, डिजिटल एक्सरे, भिडियो एक्सरे दुरबिनबाट सबै किसिमको शल्यक्रिया सेवा, बालरोग उपचार सेवा, डाइलासिस, आधुनिक मेसिनबाट सबै किसिमको प्रयोगशाला सेवा, नाक कान घाँटीको उपचार सेवा, आँखा जाँच लगायत सेवा प्रदान गर्ने अध्यक्ष मण्डल बताउनुभयो ।

अस्पताले सेवा प्रवाहका लागि विषेशज्ञ चिकित्सकसहित २०० जनशक्ति रहेको अस्पतालले जनाएको छ ।