विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुरु हुँदै

विराटनगर २२ जेठ । विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुरु हुँदैछ ।

विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोलि दुई दिने राष्ट्रिय सम्मेलन हुने भएको हो । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहने बताईएको छ । विहान १० वजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बीरेन्द्र सभागृहमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहाल, वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा. गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो ।

सहभागी उपप्रमुख तथा उपाध्यक्षहरुले समूह छलफल गरेर पालिका सञ्चालनमा देखिएका समस्या तथा समाधानका उपायहरुको बारेमा प्रस्तुति दिने र सम्मेलनको अन्तिम दिन उपप्रमुख तथा उपाध्यक्षहरुको विराटनगर सम्मेलनको घोषणा पत्र जारी गरेर समापन हुने महानगर प्रमुख नागेश कोइरालाले बताउनुभयो ।

सम्मेलनबाट सहभागी उपप्रमुख तथा उपाध्यक्षहरुको क्षमता विकास हुने, योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन, न्यायिक निरुपणमा सहजता ल्याई सेवा प्रवाह प्रभावकारी हुने, असल अभ्यासहरुको आदानप्रदान, विराटनगर घोषणा पत्र जारी गरी अस्पष्टता र बाझिएका कानुनहरु संशोधनका लागि दिएका सुझावहरु कार्यान्वयन भै थप अधिकार प्राप्त हुने अपेक्षा गरिएको उपप्रमुख कार्कीले बताउनुभयो ।