अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचानका लागि ८८ जना छनौट

विराटनगर २२ जेठ । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रमका लागि ८८ जना सहभागी छनौट भएका छन् । कोशी प्रदेशका १४ जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका २१४ मध्ये ८८ जनालाई छनौट गरिएको आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ कोशीले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजि कार्यक्रम गर्न लागेको हो ।

राष्ट्रिय स्तरका विभिन्न विधाका कलाकारहरू निर्णायक रहने प्रतिभा पहिचान कार्यक्रम आगामी असार २० र २१ गते विराटनगरमा संचालन गरिने भएको छ । कार्यक्रममा सहभागि हुन २१४ जना अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न विधामा आवेदन दिएका मध्ये आवेदकले आफ्नो प्रतिभा देखाएर पठाएको छोटो भिडियोका आधारमा छनौट समितिले गायनमा ३३ जना, नृत्यमा ११ जना, अभिनयमा ३ जना, साहित्यमा १६ जना, बक्तृत्वकलामा २ जना, चित्रकलामा ११ जना, हस्तकलामा १० जना, नवप्रवद्र्धनमा १ जना र कार्यक्रम संचालनमा १ जना गरी जम्मा ८८ जनालाइ दोस्रो चरणका लागि छनौट गरिएको करुणा फाउन्डेसनका केन्द्रीय कार्यालयको व्यवस्थापक सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुशार छनौट भएका ८८ जनालाई असार १६ देखि १९ गतेसम्म विधा अनुसारका प्रशिक्षकहरू बाट प्रशिक्षण तथा अभ्यास गराई उत्कृष्ट सहभागिहरूलाई फाईनलमा सहभागि गराईने छ ।

अभ्यासबाट जिविकोपार्जन हुने खालका प्रतिभाहरुलाई फाईनलमा सहभागी गराईने घिमिरेले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रम कोशी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय अपाङ्ग महासंघ कोशीका अध्यक्ष नविनचन्द्र ढुङ्गेलले जानकारी दिनुभयो । पहिलो कार्यक्रमको प्रभावकारिताका आधारमा आगामी वर्षका लागि कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।