
विराटनगर २२ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउनु भएको छ ।
विराटनगरमा भोलिदेखि शुरु हुने उपप्रमुखहरुको राष्ट्रिय सम्मेलनमा सहभागि हुन आज उहाँ विराटनगर आउनु भएको हो । उपप्रमुखहरुको सम्मेलन बाहेक पूर्वराष्ट्रपति भण्डारीको कोशी प्रदेशमा अन्य कार्यक्रममा पनि सहभागि हुने उहाँको सचिवालयले जनाएको छ ।
एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले झापाको विर्तामोडमा जेठ २४ गते आयोजना गरेको प्रदेश स्तरिय विज्ञान तथा प्रविधि प्रर्दशनी कार्यक्रममा सहभागी भएर काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ । औपचारिक दुई वटा कार्यक्रम भएपनि अनौपचारिक रुपमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट रहेको सचिवालयले जनाएको छ । चीन भ्रमण लगत्तै भण्डारी विराटनगर आउनु भएको हो ।
जेठ १० गते एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, नेता कर्णबहादुर थापा लगायतको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन जानु भएको थियो । जेठ १९ गते स्वदेश फर्कनु भएपछिको पूर्वराष्ट्रपति भण्डारीको विराटनगरमा उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन पहिलो औपचारिक कार्यक्रम रहेको छ ।
चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो ।