विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना

विराटनगर १९ जेठ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ ।

कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा एक ठूलो फड्को भएको बताउनुभयो । उहाँले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको यो कदमले क्यान्सर जस्ता जटिल रोगहरूको निदान र उपचारमा नयाँयुगको सुरुवात गरेको स्पष्ट पार्नुभयो ।

अस्पतालका वरिष्ठ क्यान्सर सर्जनले पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि अति आवश्यक प्रविधि हाइपेक सेवापनि पूर्वमै पहिलोपटक सञ्चालनमा ल्याइएको घोषणा गर्नुभयो । उहाँले यसको माध्यमबाट जीवनरक्षाको सम्भावनाउच्चहुने जानकारी दिनुभयो ।

रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुलभ सापकोटा र डा. अस्मिता रायमाझीले पनि विभागको सुरुवातसँगै क्यान्सर उपचार अझ सहज, भरपर्दो र सर्वसुलभ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूले अब पूर्वी नेपालका सर्वसाधारणले पनिविश्वस्तरीय सेवा सहजै प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको बताउनुभयो ।

संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले भन्नुभयो,‘ विराट मेडिकल कलेज टिचिङ हस्पिटल स्थापना गर्दा हामीले सेवा, शिक्षा र सामाजिक परिवर्तनको केन्द्र बनाउने लक्ष्य राखेका थियौं । न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको सुरुवातले त्यो परिकल्पना आज थप मजबुत बनेको छ ।’

अस्पतालका सीईओ डा. निकिताकार्कीले पनि स्वास्थ्य सेवा जनउत्तरदायी र सर्वसुलभ हुनुपर्छ भन्ने मान्यताका साथ अस्पताल सञ्चालन भइरहेको बताउनुभयो ।