‘जिराे’ लेभल अम्पायर तथा स्कोरर तालिम

विराटनगर १९ जेठ । नेपाल क्रिकेट संघको आयोजनामा विराटनगरमा सञ्चालित तीन दिने ‘जिराे’ लेभल अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ ।

जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका ११ वटा जिल्लाबाट ३५ जना सहभागी भएका थिए । सहभागीहरूमा धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका प्रतिनिधिहरू रहेका थिए ।

कार्यक्रममा वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर बुद्धि प्रधान प्रमुख प्रशिक्षकका रूपमा रहेका थिए । प्रशिक्षणमा क्रिकेटका नियम, आधुनिक स्कोरिङ प्रणाली र निर्णय क्षमताको विकास लगायतका विषयहरू समेटिएका थिए भने कार्यक्रममा सहभागीहरूले अम्पायर र स्कोररको भूमिकाबारे व्यवहारिक ज्ञान लिँदै स्थानीयदेखि प्रदेशस्तरका खेलमा जिम्मेवारी निर्वाह गर्ने क्षमताको विकास गरेका छन । यसकार्यक्रमको अन्तिम दिनमा सहभागीहरूले लिखित तथा व्यवहारिक परीक्षा पनि दिएका थिए ।

तालिममा सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्नुका साथै क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा जिम्मेवारी लिन सक्ने तयारीसमेत गरेका छन ।