विराटनगर ८ मा रमणीय पार्कको शिलान्यास, ८४ वर्षीय अज्र्यालको अग्रसरता

विराटनगर १५ जेठ । विराटनगर ८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ ।

विराटेश्वर बृद्धाआश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालले पार्क निर्माण गर्न लाग्नु भएको हो ।

२ विगाहा आठ कठ्ठा जमिनमा पार्क बनाउन लागिएको हो । पार्कको १८ औं गणतन्त्र दिवसको अवसर पारेर आज शिलान्यास गरिएको छ । पार्कको विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गर्नु भएको थियो ।

शिलान्यास कार्यक्रममा अध्यक्ष अज्र्याल, उपाध्यक्ष उमा रेग्मी टंकप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।
पार्क निर्माणका लागि जग्गाधनी टिकाराज ढकालले सहुलियत दरमा जमिन उपलब्ध गराउनु भएको छ ।

२ विगाहा ८ कठ्ठा जमिन मध्ये अज्र्यालले १४ कठ्ठा जमिन बैना गरिसकेको बताउनुभयो । बाँकी जमिन खरिदका लागि सहयोगी दाताको खोजि गरिने उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिका भित्र एउटा पनि रमणीय पार्क नभएकाले बृद्धाश्रमको अभियान सकिएकोले दैनिक एक रुपैयाँ संकलन गरेर पार्क निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

पार्क क्षेत्र विस्तारमा पार्क आसपास रहेका ऐलानी जमिनका लागि वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष पोखरेलले बताउनुभयो । पार्क निर्माणका लागि वडा कार्यालयले हातेमालो गर्ने उहाँको भनाई छ ।