३६ करोडमा तयार भयो मोरङ कारागारको नयाँ भवन, गृहमन्त्री लेखकद्धारा उद्घाटन

विराटनगर ३० वैशाख । जिल्ला कारागार मोरङको नयाँ कारागार भवन उद्घाटन भएको छ । ३६ करोड १२ लाख ८५ हजार लागतमा निर्माण भएको भवन मंगलबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको हो ।

कारागार भित्र पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, कारागार प्रशासन भवन, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, नाला सडकलगायत संरचना निर्माण भएको छ । कारागार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नयाँ भवनसँगै पुरानो भवन पनि कैदीबन्दी राखिनेछ ।

आशिष, आशिर्वाद,स्वामीनारायण जेभीले २०७८ सालमा दुई वर्ष भित्र निर्माण सक्नेगरी ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले गत पुसमा निर्माण सम्पन्न गरेको थियो । कारागार विभागका महानिर्देशक भट्टराईका अनुसार नयाँ ब्लक निर्माण भएपछि मोरङ कारागारको क्षमता बढेको छ । नयाँ भवनमा २१८ जना पुरुष र ९९ जना महिला कैदीबन्दी राख्ने क्षमता छ । योसँगै अब मोरङ कारागारको क्षमता ४६८ पुरुष र १५९ जना महिलासहित ६१७ पुगेको छ ।

यसअघि महिला पुरुष गरेर ३०० जना अटाउने क्षमता थियो । तर क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको थियो । मंगलबार मोरङ कारागारमा कैदीबन्दीको संख्या ९३२ पुरुष र १०९ महिला, ३ जना नाबालकसहित १ हजार ४४ जना कैदीबन्दी छन् ।

कारागार भवनको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले कैदीबन्दीको अधिकारका लागि राज्यले काम गरिरहेको बताउनुभयो । उहाँले कारागारलाई सुधार गृहको रुपमा अघि बढाइएको बताउनुभयो ।