
विराटनगर २३ वैशाख । कोशी लोकमार्गअन्तर्गत धनकुटामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा यात्रुवाहक बस सोमबार दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटना ११ जना घाइते छन् । जस मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।