कोशी प्रदेशको मानव विकास सूचकांक बढाउने नीति तथा कार्यक्रम आउँछ : मन्त्री राई

विराटनगर १७ वैशाख । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीमा लागेको बताउनु भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मानव विकास सूचकांक बढाउने गरिको आउने उहाँले बताउनु भएको छ । सामाजिक विकास मन्त्रालयको सहकार्यमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको पाँचदिने लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालिमको समापन कार्यक्रमलाई आज संवोधन गर्दै मन्त्री राईले सो कुरा बताउनु भएको हो ।

सामाजिक विकास मन्त्रालयले मानव विकास सूचकांक बढाउने गरिको नीति , कार्यक्रम र बजेटको प्रवन्ध गर्ने उहाँले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुशार कोशी प्रदेशको मानव विकास सूचकांक ०.५९८ छ । जुन मध्यम श्रेणी भित्र पर्दछ । मन्त्री राईले आगामी आर्थिक वर्षका लागि महिला हिंसा निवारणका लागि पनि मन्त्रालयले नीति, कार्यक्रम तय गरेको बताउनुभयो ।

सामाजिक विकास मन्त्री राईले सामुदायिक विद्यालयको शिक्षा सन्तोषजनक नरहेको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।

तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, सल्लाहकारहरु विक्रम लुइँटेल, विवेक गौतम, महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, अम्विका भण्डारी लगायतले बोल्नु भएको थियो ।

तालिममा कोशी प्रदेशका ३० महिला सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष शिव गाउँले, नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्षहरु यज्ञ शर्मा, विक्रम निरौला, बन्धु पोखरेल, पत्रकार लीलाराज भट्टराई, सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले गर्नुभएको महासंघ कोशी प्रदेश महासचिव हिमा चेम्जुङले जानकारी दिनुभयो ।