
विराटनगर ६ वैशाख । नेपाल अर्काे वर्ष हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न असफल भएको छ । प्रतिकूल मौसमका कारण आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीच शनिबारको खेल वर्षाका रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।
अर्काे वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो । अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो । तर मूलपानीमा शुक्रबार साँझदेखि नै वर्षा भएका थियो । मूलपानी क्रिकेट मैदान शनिबार बिहानको वर्षाले पूर्णरुपमा भिजेर पानी जमेको हुनाले खेल सञ्चालन हुन ढिलाइ भएको थियो । ३० यार्ड सर्कलभित्रको मैदान सबै सुकेपनि बाउन्ड्री लाइन छेउछाउको मैदान भिजेकै कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल हुन पनि सम्भव नभएको बताउँदै खेल रद्द गरेका थिए ।
नेपाल र अफगानिस्तान पहिलो ३ खेल जितेर निर्णायक मोडमा आइपुगेका थिए । नेट रन रेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ रहेको थियो । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने प्रावधान थियो ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा यूएईमा भएको एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तान यू–१९ ले तीन खेलको शृंखला खेलेका थिए, जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो । नेपालले यसअघि ८ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।