नेकपा एमाले विराटनगर महानगर कमिटीकोे दोस्रो अधिवेशन आज देखि शुरु

विराटनगर २ वैशाख । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको ठूलो बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रको रक्षाका लागि हामीसबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।

नेकपा एमाले विराटनगर महानगर कमिटीको आज विराटनगरमा आयोजित दुई दिने दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारी विरुद्ध पार्टीले मुलुकभरी जनजागरण अभियान शुरु गरेको प्रष्ट पार्नुभयो ।

प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका राईले मुलुकमा राजनीतिक स्थायित्व, विकास निर्माणलाई गतिदिन र सुशासन कायम गर्न नेपाली कांग्रेससँग मिलेर सरकार निर्माण गरेको बताउनु भयो । नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्यकर्ताहरु एकढिक्का भएर मिशन –८४ लाई सफल बनाउनु पर्ने विचार राख्नुभयो । नेकपा एमाले मोरङ इन्चार्ज जीवन घिमिरे र मोरङ सभापति अजम्वर राईले पार्टीले तय गरेका राष्ट्रिय संकल्पलाई पुरा गर्न हामीसबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

महानगरका इन्चार्ज पर्शुराम बस्नेत र महानगरका सभापति रोहित कोइरालाले जनताको सपना पुरा गर्ने तर्फ पार्टीका नेता तथा कार्यर्ताहरु लाग्नुपर्ने विचार राख्नु भएका छन् । महानगरका १९ वडाका ३१९ जना प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्ने छन् ।