
विराटनगर ७ चैत । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् ।
आज विहान सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार यादवले १ हजार ११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरे । यादवले विष्टलाई ४३ मतान्तरले पराजित गरे ।
एमाले निकट अनेरास्ववियुका अनिश बोगटीले २३२, नेविसंघबाट बागि उम्मेदवारी दिएका योगराज दाहालले ६०, अनेरास्ववियु क्रान्तिकारी बहुमतकी अनिशा राई ३१, विद्यार्थी जनमत संघका रुपेश सिंहले ३० , प्राज्ञिक विद्यार्थी परिषद्का विवस कटुवालले २० मत प्राप्त गरे ।
महेन्द्र मोरङको स्ववियु सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर, कोषाध्यक्षमा नेविसंघकै रोशन कुमार पासवान, सदस्यहरुमा अखिल क्रान्तिकारीका गौतमकुमार मण्डल, नेविसंघका मोहम्वत साहिन, कौशलकुमार साह, सुशान्त वस्नेत, नविनबाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले र रामदत्तकुमार मेहता निर्वाचित भएका छन् ।
महेन्द्र मोरङसँगै मोरङका १० वटै क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।
५ वटामा अखिल क्रान्तिकारी विजयी भएको छ भने ३ वटामा नेविसंघ र २ वटामा अनेरास्ववियुले जितेका छन् । कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा क्रान्तिकारीका सुजन घिमिरेको प्यानलै, विराटनगरको डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रितम साहको प्यानलै र विराट नर्सिङ कलेजको अध्यक्षमा पनि क्रान्तिकारीका रोहितकुमार ताजपुरिया निर्वाचित भएका छन् ।
केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका संगम कन्दङ्वा, सुकुना क्याम्पसको सभापतिमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन् । सचिवमा पनि गठबन्धनकै रोहन खत्री विजयी हुँदा कोषाध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेविसंघकी सविना थापा विजयी भएकी छिन ।
उर्लाबारी क्याम्पसको सभापतिमा नेविसंघका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई, लेटाङ क्याम्पसको सभापति नेविसंघका लेखनाथ दाहाल निर्वाचित भएका छन् ।