हाेली पर्वले सत्यमा हिँड्नका लागि प्रेरित गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर २९ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागु पूर्णिमा अर्थात् होली पर्वले नेपालीहरू बीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताउनुभएको छ।

आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गर्ने उल्लेख गर्दै यस्ता पर्वहरुले हाम्रो धर्म, संस्कृति र पहिचानलाई स्थापित गरेको बताउनुभएको छ।

असत्यमाथि सत्यको ‌विजय उत्सवको रुपमा मनाइने यो पर्वले सबै नेपालीलाई सत्यमा हिँड्नको लागि प्रेरित गर्ने उहाँले उल्लेख गर्नुभएको छ।

मौलिक परम्पराहरूको संरक्षण गर्दै आपसी सद्भाव र एकताका साथ पर्व मनाउने प्रचलनले हाम्रो राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपालीलाई साकार पार्न पनि अभिप्रेरित गर्ने विश्वास मुख्यमन्त्री कार्कीले गर्नुभएको छ।

नेपाल बहुजातीय ,बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुपहिचान भएको मुलुक भएकाले नै हामीबीचको एकता र सद्भाव वृद्धि भएको मुख्यमन्त्री कार्कीले उल्लेख गर्दै यसका माध्यमबाट विकास र समृद्धिमा अघि बढ्नका लागि प्रेरित गरिरहेको बताउनुभएको छ।

होली पर्व पहाड र तराई गरेर आज र भोलि मनाइँदैछ।