बजेट अधिवेशनबाटै प्रदेश १ को नाम टुंग्याउने कांग्रेसको निर्णय

विराटनगर, १ असार । प्रदेश १ को चालू दसौं एवं बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने निर्णय नेपाली कांग्रेसले गरेको छ ।

कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको हो । प्रदेशको नाम राख्ने विषयमा कांग्रेसले अन्तर पार्टी छलफलका लागि पहल पनि थालेको उहाँको भनाइ छ ।

नामका लागि पार्टीभित्र समान धारणा बनाएर अघि बढ्ने सहमति भएको राईले बताउनु भयो । बैठकले संसदीय दलका नेता राजीव कोइरालालाई अन्य दलसँग प्रदेशको नामको विषयमा छलफल चलाउने जिम्मेवारी पनि दिएको छ । प्रदेशको राजनीतिक संयन्त्रका संयोजकसमेत रहनु भएका कोइरालाले नामको विषयमा छलफल चलाएर अन्य दलसँग पनि सहमति जुटाउन पहल गर्नु हुने छ । ‘नामको विषयलाई लिएर पार्टीभित्र समान धारणा बनाएर अघि बढ्ने सहमति भएको छ,’ कांग्रेसका प्रमुख सचेतक राईले भन्नु भयो, ‘समान धारणा बनाएर अघि बढ्न अन्य दललाई समेत सहमत गराउने प्रयास कांग्रेसको हुने छ ।’ मुलुकका ७ वटामध्ये ६ वटा प्रदेशले नाम पाइसकेका छन् ।

प्रदेश १ को मात्रै न्वारन हुन बाँकी छ । अब प्रदेश १ को पनि नाम राख्ने विषयमा विलम्ब गर्न नहुनेमा कांग्रेस सचेत रहेको राईको भनाइ छ । प्रदेशको नामको विषयमा सत्तारुढ गठबन्धन सरकारले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा छलफल गर्न समिति बनाएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय सहजीकरण समिति गठन गरिसकेको छ ।