विराटनगरमा विमानस्थल पीडितहरु आन्दोलित

विराटनगर, ३० जेठ । विराटनगर विमानस्थल पीडितहरु आन्दोलित भएका छन् । विमानस्थल विस्तारका नाममा दुई वर्षदेखि जग्गा रोक्का राखिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयलाई मुआब्जा दिन भनेर सरकारले तीन सय परिवारको एक हजार चार सय कित्ता जग्गा रोक्का राखेको हो । अहिलेसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । न त जग्गा नै फुकुवा भएको छ । विमानस्थल विस्तारका लागि सरकारले बजेटसमेत विनियोजन नगरेपछि स्थानीयले सडक आन्दोलन सुरु गरेका हुन् । जग्गा रोक्का राखेको लामो समयसम्म सरकारले मुआब्जा नदिँदा र जग्गा फुकुवासमेत नगरेपछि आन्दोलनमा उत्रनु परेको गुनासो स्थानीयको छ । जानिजानि सरकारले दुःख दिएको गुनासो स्थानीयले गरेका छन् ।

तत्कालीन मन्त्रीपरिषद्ले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउने र सार्क राष्ट्रहरुमा विराटनगरबाटै हवाई उडान गराउने निर्णय २०७७ असोजमा गरेको थियो । सोही निर्णयका आधारमा विमानस्थल आसपासका १४ सय कित्ता जग्गा अधिग्रहणका लागि २०७७ चैतदेखि रोक्का गरिएको थियो । मुआब्जा निर्धारण समिति बनाउँदै सरकारले मुआब्जाका लागि सूचना जारी गरेपछि स्थानीयले नागरिक उड्डयन प्राधिकरण विराटनगरमा आफ्ना सम्पूर्ण कागजात बुझाएका थिए । तर मुआब्जाका लागि अहिलेसम्म बजेट बिनियोजन गरिएको छैन । विमानस्थल पीडित संघर्ष समितिका संयोजक वेदराज पौडेलले विमानस्थल विस्तारका नाममा जग्गा अधिग्रहण गर्ने भनेर स्थानीयको जग्गा लामो समयदेखि सरकारले रोक्का गरेको र फुकुवासमेत नगरेको बताउनु भयो ।

जग्गा रोक्का गरिएकै कारण स्थानीय ठूलो समस्यामा परेको र उनीहरुको हरिविजोग भएको पौडेलको भनाइ छ । आफूहरु अन्यायमा परेपछि न्याय खोज्दै सडक संघर्षमा निस्कनु परेको उहाँले बताउनु भयो । पौडेलका अनुसार जग्गा र घर रोक्का राखिएकाले आर्थिक सङ्कटमा परेका बेला पीडितले धितो राखेर पैसा निकाल्न पाएका छैनन् । अंशवन्डा, धितोपास, बिक्री वितरण, नामसारी, घर निर्माणलगायतका सबै काम ठप्प भएको उहाँको भनाइ छ । आफ्नो सम्पत्ति उपयोगविहीन हुँदा धेरैको दैनिकी कष्टकर बनेको संयोजक पौडेलले बताउनु भयो । उहाँका अनुसार तीन धुरदेखि १० बिघासम्म जग्गा रोक्का भएका परिवार संख्या धेरै छ ।

सरकारकै कारण निजी जमिनको उपभोग गर्नबाट सर्वसाधारण बञ्चित हुनु परिरहेको स्थानीय एलिसा मगरको गुनासो छ । सम्पत्ति भएर पनि रोक्का राखिदिएपछि छोराछोरी पढाउन, बिहेदान गर्न, व्यापार व्यावसाय गर्नबाट बञ्चित हुनु परेको पीडा उहाँले पोख्नु भयो ।