गोल्डेन अस्पतालले क्याथ ल्याव र आईभीएफ सेवा शुरु गर्ने

विराटनगर ११ फागुन । गोल्डेन अस्पताल विराटनगरले आगामी एक वर्ष भित्रमा क्याथ ल्याव र आईभीएफ सेवा शुरु गर्ने भएको छ ।

अस्पताल स्थापनाको १४ औं बार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा आगामी एक वर्ष भित्रमा क्याथ ल्याव सेवा सञ्चालन गरि मुटुरोगीहरुका लागि सुलभ उपचार र आईभीएफ सेवा शुरु गरि निःसन्तान दम्पतीहरुलाई अभिभावक बन्ने सपना साकार पार्ने अस्पतालका सञ्चालक बरिष्ठ चिकित्सक श्याम रौनियारले जानकारी दिनुभयो । उहाँले १४ वर्षको अवधिमा अस्पतालले जनताको विश्वास जितेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ विभिन्न आरोह अवरोह पार गर्दै अस्पताल मल्टिस्पेशियालिटी बनेको छ ।’ मेडिकल कलेजहरुको तुलनामा बढी सेवा दिईएको उहाँको दावी छ । रौनियारले भन्नुभयो,‘ पूर्व क्षेत्रका निम्न तथा मध्यमवर्गीय जनतालाई मेडिकल कलेजहरुले लिने शुल्क भन्दा पनि कममा सेवा दिएका छौं ।’ अनुभवी दक्ष चिकित्सकको टिमकै कारण अस्पताल निरन्तर प्रगतिपथमा रहेको उहाँको भनाई छ । अस्पतालका सञ्चालक रमेशकुमार रौनियारले गोल्डेन अस्पताल पूर्व क्षेत्रमै उदाहरणीय अस्पताल रहेको बताउनुभयो ।

एक सय शैयाको अस्पतालले पूर्वी नेपालका साथै ४० प्रतिशत सेवाग्राही भारतका रहेको बताउनुभयो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहम्वत जियाउल हकले स्वास्थ्य सेवामा अस्पतालले नविनतम प्रविधि भित्राएको बताउनुभयो । उहाँले एआई एकिकृत १९२ स्लाईस सीटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आईसीयु, एनआईसीयु, एचडियु जस्ता अध्याधुनिक प्रविधिहरु अस्पतालले उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत हकले जानकारी दिनुभयो ।

विराटनगर ११ स्थित आफ्नै भवनमा गोल्डेन अस्पतालले गत मंसिर देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटी) को सम्वन्धनमा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र पीसीएल जनरल मेडिसिन कार्यक्रम शुरु गरेको जनाएको छ ।