
विराटनगर १० फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिदैछ । आगामी फागुन १७-१९ विराटनगरमा हुने जिल्ला अधिवेशनकाे प्रतिनिधि चयनका लागि २०३ वटा निर्वाचन क्षेत्र तय गरिएको छ ।
जिल्ला भरिका १५९ वडा, २३ जनसंगठन, १७ जातिय मुक्ति समाज, ३ पेशागत र एक सम्पर्क मञ्चको निर्वाचन क्षेत्र रहेको छ । सवै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति पनि बनाईएको छ ।
भूगोल र जनसंगठन निर्वाचन क्षेत्रको प्रमुखमा जिल्ला उपाध्यक्ष शान्तिकुमारी लिम्वुलाई जिम्मेवारी दिईएको छ । महानगरको १९ वटै वडाका निर्वाचन सम्पन्न गर्न तारानाथ निरौला र पेशाकर्मीको निर्वाचन सम्पन्न गर्नका लागि रुपनारायण मिश्रलाई जिम्मेवारी दिईएको छ ।
विहान १० वजेदेखि ४ वजे सम्म मोरङका १७ वटै स्थानीय तहका १५९ वडा, २३ वटा जनसंगठन, नेपाल उत्पीडित जातिय मुक्ति समाजका १७ वटै नगर÷गाउँकमिटी, मोरङ–काठमाण्डौं सम्पर्क मञ्चले एकै दिन प्रतिनिधि चयन गर्ने एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिनुभयो ।
२०३ वटै निर्वाचन क्षेत्रबाट ९२१ जना प्रतिनिधि चयन भएर आउने छन् । प्रतिनिधि चयनका लागि २५ जना संगठित सदस्य बराबर ३ सिटको प्रवन्ध गरिएको छ । प्रतिनिधि छनौटमा ३३ प्रतिशत महिला, १५ प्रतिशत यूवा र १० प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य हुनेगरिको व्यवस्था मिलाईएको इन्चार्ज घिमिरेले बताउनुभयो । उहाँका अनुसार अनुसूची १ अनुशारको जनसंगठनहरुमा ५ जना र अनुसूची २ अनुसारको जनसंगठनमा ३ जना प्रतिनिधि छनौटको व्यवस्था गरिएको छ ।
सम्पर्क मञ्चबाट ५ जना छनौट भएर आउने एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज घिमिरेले जानकारी दिनुभयो ।