सबै जातिको पहिचान एवं मान सम्मानलाई कायम राखिन्छ : महामन्त्री थापा

विराटनगर १० फागुन । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले नेकां मुलुकको सम्पूर्ण जातजातिलाई एकआपसमा जोड्ने जिम्मेवार पार्टी भएको बताउनु भएको छ ।

सूचना ,सञ्चार तथा प्रचार विभागद्वारा शुक्रबार विराटनगरमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान तथा तथ्यमा आधारित प्रचार अभियान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै जातिको पहिचान एवं मान सम्मानलाई कायम राख्ने मुलुकको ठूलो एवं राष्ट्रिय पार्टी भएको प्रष्ट पार्नु भयो । महामन्त्री थापाले मुलुकमा देखिएका विभिन्न समस्याको उत्तेजना र क्षणिक लाभबाट मुक्त रही उपयुक्त समाधान निकाल्ने जिम्मेवारी पार्टी कांग्रेस भएको विचार राख्नु भयो ।

महामन्त्री थापाले आगामी विस २०८४ को निर्वाचनमा जाँदा कार्यकर्ताहरुले विगत तीन वर्षमा गरेको कामहरुको रेकर्ड लिएर जनतामा समक्ष जान आग्रह गर्नुभयो । उहाँले कांग्रेसको नेतृत्वमा रहेको सरकारले विस २०४८ देखि २०५१ सम्ममा घाटामा रहेका सरकारी उद्योगको नीजिकरणले मुलुकले अहिले आर्थिक प्रगति हासिल गरेको उद्हारण सहित दावी गर्नु भयो । महामन्त्री थापाले भन्नु भयो,‘ पार्टीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेमा त्यसको दण्डसजायको जिम्मेवारी स्वयम हुने छ ।’ सहमहामन्त्री भीष्मराज आङ्गदम्वेले पाथीभरा समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न आग्रह गर्दै वार्ता अवधिसम्म निर्माण कार्य स्थगित गर्नुपर्ने सुझाव दिनु भयो ।

कोशी प्रदेशका सभापति एवं पूर्व मुख्यमन्त्री उद्धव थापाले नेकांले ल्याएको स्वास्थ्य वीमा जस्ता कार्यक्रमको द्रुतगतिमा समाजमा प्रचार प्रसार गर्नुपर्ने सुझाव दिनु भयो । विभागका अध्यक्ष केन्द्रीय सदस्य मीन विश्वकर्माले कार्यकर्ताहरु अध्ययनशील भई प्रविधिको प्रयोग गरी पार्टीप्रति हुने भ्रम सिर्जनाको अत्य गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रम संयोजक तेजराज रेग्मी, केन्द्रीय सदस्यहरु भीम पराजुली, राजीव ढुंगाना, तारामान गरुङ्ग, लक्ष्मी परियार,अमृत अर्याल, नैनसिंह महरा लगायतले युवालाई शिप र प्रविधिमा दक्ष बनाई मुलुकको समृद्धिमा योगदान पुर्याउन लगाउनु पर्ने बताउनु भयो । कार्यक्रममा वाह्रखरी अनलाईका प्रधान सम्पादक हरिबहादुर थापा र रत्नराज्य क्याम्पस पत्रकारिता विभागका प्रमुख जगत नेपालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रदेशका १४ जिल्लाका जिल्ला सभापति लगायत नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।