विराटनगर १९ माघ । एमाले नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण गरिएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका वीच पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा उहाँले पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको बताउनुभयो । प्रगतिशील लेखक संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान कार्यक्रममा उहाँले पुस्तकले हिजोलाई फर्केर हेर्ने काम भएको बताउनुभयो । पुस्तकका माध्यमबाट भोलि गर्ने काम पनि देखाईएको सभामुख घिमिरेको भनाई छ । उहाँले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापनाका यस क्षेत्रका जनता, दलका नेता एवं कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नेकपा एमालेकी उपाध्यक्ष एवं वागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सङ्घीय गणतन्त्रलाईलाई वलियो बनाउ इतिहासको भूमिका रहेन बताउनु भयो । उहाँले अव आफ्नो बाँकी जीवन जनताको समृद्धि र पार्टीको संगठन सुदृढीकरणमा लाग्ने जानकारी दिनु भयो ।
लेखक एवं नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले प्रजातन्त्र र एवं लोकतन्त्र स्थापनाका लागि लागेको आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफुसँग सम्बन्ध जोडिएका चार सय पात्रहरुको विवरण पुस्तकमा समावेश गरिएको बताउनु भयो । कार्यक्रममा चन्द्र भण्डारी , निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई, विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गर्नु भएको थियो । सोही अवसरमा सभामुख घिमिरेले नेकपा एमालेका उपाध्यक्ष शाक्य सहित १२ जना पुस्तकका मुख्य पात्रहरुलाई सम्मानित गर्नुभयो ।
कार्यक्रममा विराटनगर १ की माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्वे, स्व.रमाप्रसाद रिजाल, कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरेलाई पनि सम्मान गरेको छ ।
एमाले केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेका हुन् । पार्टी राजनीतिकसँग जोडिएका घटनाहरू, सो घटनामा संलग्न करिब ४ सय पात्रहरूका विषयहरू पुस्तकमा समेटिएको छ । २०३६–०४६ आन्दोलनका समयका पात्रहरूका बारेमा थेसिस गर्न चाहनेहरूका लागि पुस्तक उपयोगी श्रोत हुने लेखक घिमिरेको भनाई छ ।