मुलुकमा समृद्धि ल्याउन सवै राजनीतिक दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका : पूर्व प्रधानमन्त्री दाहाल

विराटनगर ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समृद्धि ल्याउन सवै राजनीतिक दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाँले सुशासन, विभेदको अन्त्य, निश्पक्ष न्याय र आर्थिक संकट अन्त्य गरी मुलुकमा समृद्धि ल्याउनुपर्नेमा जोड दिनुभयो ।

विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उहाँले मुलुकप्रति नकारात्मक सोच वृद्धि हुँदै गएको अवस्थामा पत्रकारिताको माध्यमवाट देशप्रति निष्ठा एवं माया जगाउने सन्देश समाज निरन्तर प्रवाह गर्नु जरुरी रहेको विचार राख्नु भयो । वर्तमान अवस्थामा सामाजिक सञ्जालको कारण ‘प्रिन्ट मिडिया’को अगाडि ठूलो चुनौतिका वावजुद दैनिक पत्रिका निन्तरता प्रकाशन गर्न समस्या रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशको माया एवं इतिहासप्रति हामीसबैले गर्व गर्नु जरुरी रहेको बताउनु भएको छ । उहाँले भौगोलिक विविधता र प्राकृतिक स्रोत र साधनको दृष्टिकोणले अग्रणी रहेको आफ्नै मुलुकमा वसी कार्य गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले नायक विजय बराल, नायिका नीता ढुङ्गाना, सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ, क्रिकेट खेलाडी ललित राजवंशी, ओलम्पिक विजेता पलेसा गोवद्र्धन, गायक एवं संगीतकार बाबुल गिरी, नेपाली प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्का, मोरङको जहदा गाउँपालिकाका मोरङका अध्यक्ष जीतेन्द्र साह लागयतलाई पुरस्कृत एवं सम्मान गर्नु भएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चारगृहले कामको आधारमा विकास निर्माणका समाचारलाई प्राथमिकता दिनु पर्ने सुझाव दिनुभयो ।