विराटनगर २८ पुस । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) मोरङको आयोजनामा भएको आईएनजी स्क्रीन र एयुएफआईटी क्यान प्रिमियर लिग २०२५ क्रिकेट प्रतियोगितामा नेशनल टेक च्यालेन्जर्सले उपाधि जितेको छ ।
शनिबार विराटनगरको द स्पोट्र्स हब मा भएको फाइनल खेलमा नेशनल टेक च्यालेन्जर्सले बिट्स टिमलाई पराजित गर्दै उपाधि जितेको हो ।
दाहुवा टेक्नोलोजी (इओन टेक्नोलोजी), निक्सन र हिकसेमीको सह–प्रायोजनमा आयोजित सो प्रतियोगितामा मोरङका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ७ टिमले सहभागिता जनाएका थिए ।
विजेता टिमका कप्तान तथा नेशनल टेक वल्र्डका संचालक समिर आलमले यस प्रतियोगिताले सूचना तथा सञ्चार प्रविधि व्यवसायीहरूबीच एकता कायम गर्न सहयोग पुर्याएको बताए । उनले टिमको उत्कृष्ट प्रदर्शन र सबै शुभचिन्तकहरूप्रति आभार व्यक्त गरे ।
प्रतियोगितामा व्यक्तिगत उपलब्धितर्फ नेशनल टेक च्यालेन्जर्सका शकिब हकले उत्कृष्ट ब्याट्सम्यान र बिट्सका अरिहन्त बैद्य उत्कृष्ट बलर घोषित भए । नेशनल टेक च्यालेन्जर्सका राहुल वर्मा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा मोरङ क्षेत्रका ५० भन्दा बढी सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रतियोगिता सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएका छन ।
प्रतियोगिताको उद्घाटन क्यान महासङ्घ केन्द्रका उपाध्यक्ष सिर्जना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम सन्चालनमा समृद्धि चापागाईंले गर्नुभएको थियो । प्रतियोगिताको समापन युवा नेता वसिम आलमले गर्नुभएको थियो । उहाँले विजेतालाइ पुरस्कार राशी र ट्रफी वितरण गर्दै क्यान महासंघले खेल र आइसिटीको अद्भूत संगम क्यान प्रिमियर लिग प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गर्नुभयो ।