काेशीका सभामुख विष्टद्वारा मुख्यमन्त्री कार्कीलाई अन्तर-व्यवस्थापिका मञ्चको सातबुँदे घोषणापत्र हस्तान्तरण

विराटनगर २६ पुस। कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनको घोषणापत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाउनु भएकाे छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सभामुख विष्टले मुख्यमन्त्रीलाई बुझाएको घोषणापत्रमा संघीयता र संविधान कार्यान्वयनदेखि संसदको आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा पुस १ देखि ३ गतेसम्म भएको प्रदेश र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षहरूको सम्मेलनले उक्त घोषणापत्र सार्वजनिक गरेको थियो ।

सम्मेलनले संघीयता र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सातवटा महत्त्वपूर्ण प्रतिबद्धताहरू सार्वजनिक गरेको हो ।

जसमा संघीयता र संविधान कार्यान्वयनका लागि तीनवटै तहको कानुन निर्माणमा समन्वय हुनुपर्ने, कानुन कार्यान्वयन र विधायिकी परीक्षणको कार्यलाई प्रभावकारी बनाउनुपर्ने, संसदीय बजेट कार्यालयको स्थापना र संसदीय गतिविधिहरूको प्रसारणका लागि संसदको आफ्नै च्यानल र डिजिटल प्लेटफर्म नीति प्रयोगशालाको सञ्चालन गर्ने विषय उल्लेख छन् ।