व्यवसाय विकास सेवा (बिडिएस) सम्झौतामा हस्ताक्षर

विराटनगर ५ पुस । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र उपाय बिजनेश सोलुशन र नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र डाइनो टेक प्रा.लि. बीच दुई बेग्ला बेग्लै सम्झौता भएको हो । उपाय बिजनेश सोलुशन बीचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चलसिंह भण्डारी र उपाय बिजनेश सोलुशनका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ तथा डाइनो टेक प्रा.लि. बीचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र डाइनो टेक प्रा.लि. का अध्यक्ष प्रदिप सिग्देलले हस्ताक्षर गर्नु भएको थियो ।

सम्झौता कार्यक्रम अघि बिडिएसबारे विभिन्न वक्ताले चर्चा गर्नु भएको थियो । त्यस क्रममा अध्यक्ष राउतले नेपालको आर्थिक विकासका लागि कोशी प्रदेशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसाय विकास सेवा शुभारम्भ भएकामा खुसी व्यक्त भएको भयोे । कोशी प्रदेशमा सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै अध्यक्ष राउतले व्यवसाय विकास सेवाबाट थप लाभ प्राप्त हुने बताउनु भयो ।

कोशी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको तथ्यांक राउतले प्रस्तुत गर्नु भएको थियोे । उक्त तथ्यांक औपचारिक रुपमा सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठानहरुको भएको उल्लेख गर्दै उहाँले अनौपचारिक रुपमा यस्ता धेरै उद्योगहरु सञ्चालनमा रहेको बताउनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उपाय र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडको सहकार्यमा कानुनीदेखि व्यवसाय सुधार, बजार पहुँच र प्रतिस्पर्धात्मक क्षमता बढाउने जस्ता सेवाहरु पूर्वमै पहिलो पटक व्यवसाय विकास सेवा (बिडिएस) दिन लागिएको अध्यक्ष राउतले बताउनु भयो ।

उदय परियोजनाका विष्णु काफ्लेले उद्योगीले व्यहोर्नु परेका समस्या समाधान गर्नका लागि बिडिएस सुरु हुन लागेको बताउँदै यसबाट धेरैभन्दा धेरै उद्योगीहरुले लाभ लिन सकिने उल्लेख गर्नु भयो । समस्या समाधानका साथै भरपर्दो बजारका लागि पनि कार्यक्रम सहयोगी सिद्ध हुने उहाँको भनाइ थियो । सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले नेपालको विकास गर्न साना तथा मझौला उद्योगहरुको संरक्षण र विकासमा जोड दिनुपर्ने बताउनु भयो । त्यसो गर्नका लागि बिडिएस कार्यक्रम निकै प्रभावकारी हुने उहाँले उल्लेख गर्नु भयो ।

साना उद्योग दर्ता, नवीकरण, सञ्चालनदेखि अन्य प्रक्रियाहरुमा झेल्नुपर्ने समस्याबाट मुक्ति पाउन यो कार्यक्रम निकै उपयोगी रहेको श्रेष्ठले बताउनु भएको थियो । यसैगरी, उद्योगहरुको क्षमता अभिवृद्धि गर्न पनि मद्दत पुग्ने उहाँले बताउनु भएको थियो ।

महासंघ कोशीका सदस्य वीरेन्द्र शाहले बिडिएस कार्यक्रमका लागि महत्वपूर्ण संस्थाहरुसँग जोडिएर काम गर्न पाउँदा उत्साहित रहेको सुनाउनु भयो । यसलाई सफल बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका हुने उहाँले उल्लेख गर्नु भयो । ५० जनाको सहभागिता रहेको कार्यक्रम बीच उक्त सम्झौता पत्रहरुमा हस्ताक्षर भएको थियो ।