राजनीतिक दलहरुको सहमतीमा संविधान संशोधन : कांग्रेस सभापति देउवा

विराटनगर २१ मंसिर । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधान संशोधन गर्न दुई तिहाई वहमत आवश्यक भएकोले दलहरुवीच वार्ता एवं सहमती कायम गर्ने प्रष्ट पार्नु भयो ।

पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (विआरआई )मा ऋण सम्बन्धी सम्झौतामा नभएको प्रष्ट पार्दै त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिनु भयो । उहाँले वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्ट नभएको बताउँदै यसले मुलुकमा राजनीतिक स्थायीय कायम हुनुका साथ मुलुक समृद्धितर्फ अगाडि वढी रहेको धारणा राख्नु भयो ।

एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री देउवाले विराटनगरमा गएको मङ्सिर १८ गते भएको प्रदेशस्तरीय नेपाली कांगेस पालिका सभापतिहरुको भेलाका सम्बन्धमा कुनै जानकारी नभएको बताउनु भयो । उहाँले नेपाली कांगेसको महाधिवेशन तोकिएको समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने धारणा राख्नु भयो । सभापति देउवा मङ्सिर २२ गते शनिवार विराटनगरमा हुने नेपाली कांग्रेस प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आउनु भएको हो ।