कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भण्डारी नियुक्त

विराटनगर १७ मंसिर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त हुनु भएको छ ।

भण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

विवादास्पद जापान भ्रमणका कारण तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले कात्तिक २१ गते राजीनामा दिएका कारण आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन थियो ।