विराटनगर ४ मंसिर । आगामी मंसिर १६ गते मोरङ ग्रामथानको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नमोनारायण माझीले निर्वाचन खर्च पेश नगरेको पाईएको छ ।
२०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान १ मा स्वतन्त्रबाट माझीले उम्मेदवारी दिएका थिए । २०७४ मा वडाध्यक्ष भएका माझी ०७९ मा तेश्रो भएका थिए । वडाध्यक्ष पदमा उम्मेदवार भएको समयको खर्च नबुझाएको निर्वाचन आयोगले जनाएको छ ।
समयमा निर्वाचन खर्च नबुझाएपछि खर्च नबुझाउनेहरुलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण पछि निर्वाचन आयोगले समयमा निर्वाचन खर्च नबुझाउनेहरुलाई जरिवाना गरेको थियो । निर्वाचन खर्च नबुझापछि माझी पनि जरिवानामा पर्नु भएको थियो । उहाँलाई आयोगले १ लाख ५० हजार जरिवाना गरेको छ ।
२०५४ मा नेपाली कांग्रेसबाट तत्कालिन लखन्तरी गाविसको अध्यक्ष रहनु भएका माझी २०७४ मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट ग्रामथान १ को वडाध्यक्ष हुनु भएको थियो । ०७९ मा स्वतन्त्रबाट वडाध्यक्षमा प्रतिष्पर्धा गर्नुभएका उहाँ अहिले मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।
माझीलाई निर्वाचन नै पिच्छे दलपरिवर्तन गर्दै उम्मेदवार बन्ने गरेको भन्दै आलोचना हुने गरेको छ । उहाँ आफ्नो परिचय दिँदा आफ्नो दलको नाम नै विर्सने तथा नेताकार्यकर्तासँगको भेटमा जय नेपाल भन्ने गरेको स्थानीयवासीको भनाई छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ मा निर्वाचनको खर्च विवरण पेश नगर्ने उम्मेदवारहरुलाई आयोगले जरिवाना तोक्नसक्ने व्यवस्था छ । आयोगले तोकेको जरिवाना नबुझाएमा सम्बन्धित उम्मेदवारलाई आयोगले ६ बर्षसम्म निर्वाचनमा भाग लिन रोक लगाउन सक्ने व्यवस्था छ । साथै खर्च विवरण नबुझाउने जनप्रतिनिधिको निर्वाचन बदर गर्नसक्ने व्यवस्था समेत ऐनमा छ । तर दफा २६(४) मा भनिएको छ, ‘जरिवाना गर्नु वा निर्णय गर्नुअघि आयोगले सम्बन्धित राजनीतिक दल वा व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।’