कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

विराटनगर २७ कात्तिक । विराटनगर कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो ।

यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् । उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको उनको भनाइ छ ।

घटनामा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे समेत पक्राउ परेका थिए ।