कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई मुख्यमन्त्रीको आग्रह

विराटनगर १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।

नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्ला स्तरिय प्रशिक्षात्मक तथा मध्यावधि समिक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गर्नु भएको हो । जनप्रतिनिधिहरुले आफ्नो कामको आत्मसमिक्षा गरी नराम्रा कामलाई रोकेर राम्रा कामलाई मात्र अघि बढाउन मुख्यमन्त्री कार्कीले सुझाव समेत दिनु भयो ।

पालिका प्रमुख र उपप्रमुखको तालमेल नमिल्दा धेरै पालिकाका कामहरु लथालिङ्ग भएको उदाहरण दिदै मुख्यमन्त्री कार्कीले जनप्रतिनिधिहरुवीच समन्वयको खाँचो रहेको उल्लेख गर्नु भयो । एमालेवाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको हित विपरित र पार्टीलाई वदनाम गर्ने छुट नरहेको उहाँको भनाइ थियो । ‘हामीलाई पार्टीले राम्रो काम गर्नु भनेर पठाएको हो । नराम्रो गर्ने र पार्टीलाई बदनाम गर्ने छुट हामीलाई छैन ।

मुख्यमन्त्री कार्कीले भन्नू भयो, , आफ्नो कामको राम्रोसँग समिक्षा गरौ र जनपक्षीय काममा अघि बढौ ।’ एमालेका जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्दै उहाँले एमालेले २०८४ मा अझै राम्रो नतिजा ल्याउने दावी समेत गर्नु भयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजेन्द्र राईले जनप्रतिनिधिले जनताको गरिबी घटाउने, आम्दानी बढाउने र सुशासनमा ध्यान दिएर काम गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा एमालेवाट निर्वाचित २०० भन्दा बढी जनप्रतिनिधिहरु भेला भएर मध्यावधि समीक्षा गरी भावी योजना एवम् रणनीति तय गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले बताउनु भयो ।