विराटनगर महानगरद्वारा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु

विराटनगर ८ कात्तिक । विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ । महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो ।

सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिनुभयो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको उपस्थितिमा पहिलो चरणमा विराटनगर–१९ का मिलन चोक, घिनाघाट, मुसरीटोललगायतका विभिन्न स्थानमा कुकुरलाई नियन्त्रणमा लिएर रेविजविरुद्धको खोप लगाइएको थियो ।

वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका घिमिरेले ब्यानर पढेर खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । डगनेटमार्फत कुकुरलाई नियन्त्रणमा लिई प्राविधिकहरुले खोप लगाउने गरिएको यादवले बताउनुभयो । दैनिक ३० देखि ४० वटा सडक तथा सामुदायिक कुकुरलाई खोप लगाउने गरिएको छ ।

यादवका अनुसार १५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा ६ सय कुकुरलाई खोप लगाउने लक्ष्य लिइएको छ ।